राजनीतिक पावरहाउस गौरी शंकरबाट एकता सन्देश दिनुपर्छ : मन्त्री गुरुङ

Hamro Jamana -   हाम्रो जमाना || २०७७ चैत २२ आइतबार

चरिकोट, दोलखा, चैत्र २२। सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले समृद्ध दोलखा निर्माणका लागि सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताउनुभएको छ ।
गृह जिल्ला दोलखाको गौरीशंकर गाउँपालिका १ जुँगुमा आयोजित तेस्रो राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटनमा पुग्नु भएका मन्त्री गुरुङले नेपाली कांग्रेस, माओवादी केन्द्र र अन्य राजनीतिक दलसँग मिलेर समृद्ध दोलखा निर्माणमा लाग्नुपर्नेमा जोड दिनुभयो ।
‘मुलुकको समृद्धिका लागि कम्युनिस्ट एकता भएको थियो, तर एकता टिक्न सकेन, मुलुक दिशाबिहीन अवस्थामा पुगेको छ ।’ उहाँले भन्नुभयो, ‘राजनीतिक अस्थिरताले विकास निर्माणलाई पनि ठप्प पार्ने भएकाले अब बाँकी रहेको समय सबै मिलेर अघि बढ्नुपर्छ।’
नेपाली कांग्रेसका सभापति रुद्रबहादुर खड्का, माओवादी केन्द्रबाट प्रदेशसभा सांसद हुनुभएका विशाल खड्का र नेकपा एमालेबाट संघीय सांसद हुँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री बनेको आफू समेत गौरीशंकर गाउँपालिकाको स्थानीय भएको उहाँले बताउनुभयो ।
गौरीशंकरलाई राजनीतिक पावर हाउसको संज्ञा दिदै मन्त्री गुरुङले थप्नुभयो ‘अब राजनीतिक पावर हाउस गौरीशंकरबाट कार्यगत एकताको सन्देश दिनुपर्छ।’
कम्युनिस्टहरुको बाहिर झगडा भए जसरी भित्री रुपमा फुट्न नसकेको भन्दै उहाँले थप्नुभयो भित्री गाँठो जटिल रहेकाले माओवादी केन्द्रले विश्वासको मत फिर्ता लिन सकेको छैन् ।
कुनै व्यक्तिका कारण पार्टी विभाजन भएको नभइ प्रधानमन्त्रीका आकांक्षी र देशी विदेशी शक्तिका कारण कम्युनिस्ट एकता टुटेको उहाँको दावी थियो ।
‘कतिपयले मन्त्री भएर के काम भयो भन्ने गरेको पाइन्छ तर म भ्याएसम्म, सकेसम्म गर्दै जानेछु ’ उहाँले भन्नुभयो, जिल्लाको समृद्धिमा अवरुद्ध गर्न पार्वत गुरुङको कुनैपनि स्वार्थ हुने छैन् । कुनैपनि षड्यन्त्र र गरेको छैन । त्यसैले समृद्ध दोलखाका लागि सबै राजनीतिक दल एक ठाउँमा उभिएर एकताको संदेश दिनुपर्छ ।’
नीलकण्ठेश्वर माविको प्राङ्गणमा भएको कार्यक्रममा विशेष अतिथिको प्रदेश सांसद विशाल खड्काले विकास निर्माणमा आफू कहिँ कतै बाधा नहुने बताउनुभयो ।
कम्युनिस्ट एकता टुट्दा मुलुकमा गम्भीर असर परे पनि समय अनुसार यी सबै कुरा ठीक हुँदै जानेमा आफू विश्वस्त रहेको उहाँको भनाई थियो । शैक्षिक क्षेत्रको बढ्दो लगानी घड्दो गुणस्तरलाई सुदृढ गरिनुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
hamrojamana@gmail.com



सामाजिक संजाल