उसु अवार्डअन्तर्गत सर्वोत्कृष्ट खेलाडी घोषित

Hamro Jamana -   हाम्रो जमाना || २०७७ चैत २३ सोमबार

काठमाडौँ, चैत २३। निमा घर्तीमगर, विजयी सिन्जाली, मङ्गलप्रसाद थारू र जुनी राई उसु अवार्डअन्तर्गत सर्वोत्कृष्ट खेलाडी घोषित हुनुभएको छ ।
नेपाल उसु स्वयंसेवक प्रशिक्षक कमिटीद्वारा आयोजित अवार्डको थाउलोतर्फ महिलामा निमा र पुरुषमा विजयी सिन्जाली सर्वोत्कृष्ट चुनिनुभएको हो । सान्सौँको पुरुषमा मङ्गल र महिलामा जुनी सर्वोत्कृष्ट बन्नुभयो ।
भक्तपुरको सूर्यविनायकस्थित यो यो ब्याङ्केटमा भएको कार्यक्रममा दीपक हमालले उदीयमान खेलाडीको अवार्ड जित्नुभयो । सुस्मिता तामाङ ‘मोस्ट भेलुएबल प्लेयर’ ठहरिनुभयो । आठौँ राष्ट्रिय खेलकुद र १३औँ दक्षिण एसियाली खेलकुद (साग)को प्रदर्शनलाई मध्यनजर गरी खेलाडी छनोट गरिएको आयोजकले जनाएको छ ।
अवार्ड विजेता सबै खेलाडी आठौँ राष्ट्रिय खेलकुदका स्वर्ण विजेता हुन् । छ जनै खेलाडी १३औँ सागमा पनि पदक जितेका थिए । मङ्गलबाहेक सबै खेलाडीले १३औँ सागमा स्वर्ण जितेका थिए । मङ्गलले भने रजत हात पार्नुभएको थियो ।
विजेतालाई पूर्वमन्त्री एवं सङ्घीय सांसद महेश बस्नेत, भक्तपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्षसमेत रहेका यो योका सञ्चालक श्रीभक्त कासीछवा, नागरिक विकास बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष नुनम सुब्बा, हिमाल बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विज्ञान राई, आयोजक कमिटीका संयोजक मन्जुर महर्जन, अवार्ड संयोजक राजीव महर्जनलगायतले एक कार्यक्रमबीच ट्रफी, प्रशंसा पत्र, नगद र गिफ्ट ह्याम्पर प्रदान गरे ।
नागरिक विकास र यो यो ब्याङ्केटको मुख्य प्रायोजनमा भएको अवार्ड कार्यक्रमका अवसरमा १३औँ सागका प्रशिक्षक तथा लामो समयदेखि उसु प्रशिक्षणमा संलग्न प्रशिक्षकलाई पनि प्रशंसा पत्रबाट सम्मान गरिएको थियो । 

प्रतिक्रियाहरु
यसलाई नछुटाउनुहोस्
फेसबुक पृष्ठ
सम्पर्क ठेगाना
hamrojamana@gmail.com



सामाजिक संजाल